विभेदविरुद्ध पत्रकार महिला मेची–महाकाली साइकल यात्रामा

कोठमाडौँ । लितमाथि हुँदै आएको सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन पत्रकार महिलाले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।

वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गर्नुभएको हो ।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ ।

‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ भन्ने नाराका साथ उहाँहरूले साइकलयात्रा गर्नुभएको हो । साइकलमा उहाँहरूले राष्ट्रिय झन्डा फहराउनुभएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायतका विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुभएको थियो ।

साइकल यात्री रीता बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आएता पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता र आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उहाँको भनाइ छ ।