नेपाललाई माया दर्शाउने मिचेल योह बनिन् ओस्कारमा मनोनित हुने पहिलो एसियाली अभिनेत्री

काठमाडौं । हलिउड अभिनेत्री मिचेल योह यतिबेला विश्व मिडियाको केन्द्रमा छिन् । नहुन् पनि किन ? उनी अभिनित फिल्म ‘एभ्रिथिङ एभ्रिवेर अल एट वन्स’ यस वर्षको ओस्कार अवार्डमा सर्वाधिक ११ विधामा मनोनयन भएको छ । उनी पनि सर्वश्रेष्ठ अभिनेत्रीको विधामा मनोनित भएकी छन् ।

ओस्कारको बेस्ट एक्ट्रेस विधामा मनोनयन हुने उनी पहिलो विशुद्ध एसियाली अभिनेत्री हुन् । सन् १९३६ को ओस्कार अवार्डमा फिल्म ‘द डार्क एन्जल’बाट उत्कृष्ट अभिनेत्री विधामा मनोनित भएकी मेर्ली ओबेरनको जन्म मुम्बईमा भए पनि उनका पिता बेलायती भएकाले हलिउड सञ्चारमाध्यमले एसियाली मानेका छैनन् । मिचेल कोरोना महामारीअघि दुईपटक नेपाल भ्रमणमा आइन् ।

मलेसियाली अभिनेत्री योहले करिअर चाहिं हङकङका मार्सल आर्ट्स फिल्मबाट थालेकी थिइन् । मलेसियामा जन्मिएकी मिचेलले म्यानमारकी लोकतन्त्रवादी नेतृ आङ साङ सुकीको जीवनमा आधारित फिल्म ‘द लेडी’सहित जेम्स बन्ड ‘टुमरो नेभर डाइज’मा अभिनय गरिन् । ओस्कार विजेता निर्देशक आङ लीको फिल्म ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’मा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

स्टिवन स्पिलवर्गले निर्माण गरेको हलिउड फिल्म ‘मेमोरिज अफ गेसिया’ र ‘क्रेजी रिच एसियन्स’मा समेत उनले अभिनय गरेकी छन् । हलिउडमा नाम कमाउने उनी एसियाली स्टारमा मिचेल पर्छिन् । पति जन टडसँगै नेपाल आएकी मिचेलले काठमाडौंमा रहँदा नेपालप्रतिको माया दर्शाएकी थिइन् । उनले त्यतिबेला नेपालका पर्यटकीय सम्पदाको भ्रमण समेत गरेकी थिइन् ।