महानगरले रोप्यो एक लाख विरुवा

काठमाडौँ, जेठ ७ गते । सहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख विरुवा रोप्ने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले शङ्खधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । रोपिएका बिरुवा कपुर, धूपी र समीका छन् । अभियानको थालनी गर्दै महानगरले यसअघि कोटेश्वर–जडीबुटी सडक खण्डमा एक सय २० कपुरका बिरुवा रोपि सकेको छ ।

सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बनाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको नगर प्रमुख बालेन्द्र साहले बताउनुभयो । चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउनसक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ नगर प्रमुख साहले भने ।

सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् । कामपाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिने उहाँको भनाई छ ।