आर्थिक संकटका कारण बाँच्न धौधौ भएको भन्दै एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, माघ १७ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँनुभयो । उहाँले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्नुभया् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराउनुभयो । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन एकीकृत समाजवादीले आग्रह गरेको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।