काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू हालसम्म पदमुक्त नभएको दाबी गरेका छन् । उनले पार्टीले सांसदलाई कारबाही गर्न भन्दै प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको र निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले बागमती प्रदेशका सांसद पदमुक्त नभएको उल्लेख गर्दै औपचारिक निर्णय वा कानुनी प्रक्रिया पूरा नभएसम्म पदमुक्त भएको प्रचार नगर्न आग्रह गरेका छन् ।
“निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन। सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,” उनले भनेका छन् ।
सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नहुँदै सांसद पदमुक्त भएको समाचार बनाउनु र त्यस्तो सूचना देशभर फैलाउनु उचित नभएको उनकाे भनाइ छ।
शाहीले पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउन थालेको भन्दै त्यसबाट पार्टी बलियो नहुने टिप्पणी गरेका छन् ।
“पार्टीले कारबाही गर्न सक्छ, तर कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन,” उनले भने ।
उनले बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको पनि उल्लेख गरे ।
“उहाँहरू जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ, उहाँहरूको पदको आधार जनताको मत हो। त्यसैले भावनामा होइन, तथ्यमा बोलौँ। गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ,” शाहीले भनेका छन् ।
शाहीको यो भनाइ राप्रपाभित्र बागमती प्रदेशका सांसदलाई गरिएको कारबाहीसम्बन्धी विषयमा औपचारिक कानुनी प्रक्रिया पूरा नभएसम्म उनीहरू पदमा कायमै रहेको दाबीका रूपमा आएको हो।



