मेयर देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक

बागलुङ, जेठ ८ गते । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो ।

कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको अनुमति रद्द गर्न गृहले भनेको छ । मेयर नेपालीसहित सहकारीका पदाधिकारी केही दिनदेखि सम्पर्कविहीन छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् भने सहकारीमा धर्नासमेत दिइरहेका छन् । जेठ ५ गते उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन बनेका थिए । एक महिनादेखि सहकारीले कारोबार बन्द गरेको छ ।

बचतकर्ताले आफ्नो रकम संकटमा परेको भन्दै महिना दिन अगाडि नै सहकारी घेरेका थिए । त्यो बेला अध्यक्ष नेपालीले अहिले देशैभरि आर्थिक संकट रहेको र जग्गा बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालीसहित पदाधिकारी र सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ता त्रसित छन् ।

नेपाली विदेश जान सक्ने सम्भावना रहेकाले गृहले पत्राचार गरेर यात्रा रोक्न निर्देशन जारी भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।