मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल

लमजुङ माघ १७ गते । बेंसीसहर आउने एकमात्र डुम्रे–बेंसीसहर सडकको उदिपुर देउराली डाँडा पहिरोमा फेरि त्रास बढेको छ । हिउँदमा समेत सुख्खा पहिरो जाने गरेको र यसले बर्खायाममा झन दुःख दिन थालेपछि बैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको हो ।

बेंसीसहर नगरपालिका वडा नम्बर ८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदी पारीको बाटो उदिपुरसम्म बैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको स्रोतले जनाएको छ ।

उक्त सडकको प्रतिनिधिसभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको एक टोलीले गत शनिबार अनुगमन गरेको थियो । संविधानसभा सदस्य जमीन्द्रमान घलेका अनुसार उक्त टोलीले उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारीको बाटोको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एमालेका उपमहासचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सडक निर्माणको लागि पहल थालिने बताउनुभयो । उहाँले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन आफू लागिपर्ने बताउनुभयो ।

गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडक समेत बगाएपछि कहिले नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कहिले माथिल्लो बाटो तथा कहिले पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रुपमा सवारी आवागमन गराइरहेको छ ।

यसले जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दवाव दिइरहेको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा ३–४ महिना नै बन्द हुन सक्ने बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बैकल्पिक सडक निर्माणको लागि मस्र्याङ्दी पारीपट्टीको सडकको स्तरोन्नति गर्न १० लाख रुपैयाँको स्टेमेटसहित सडक विभागमा पुगेको जनाकारी दिनुभयो ।

अहिले पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणको लागि २० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ । यो सडक चालु आर्थिक वर्षभित्र निर्माण नसक्ने भएको हुँदा बैकल्पिक सडक निर्माणबिहान सदरमुकाम बेंसीसहर साथै मनाङसम्मको सवारी साधन आउतजाउतमा समस्या हुने प्रमुख पन्तले बताउनुभयो ।