पहिराले एकै परिवारका तीनजनासहित चार बेपत्ता

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।