नगर प्रहरीको अवरोधले धार्मिक महोत्सव प्रभावित

काठमाडौं, साउन ९ गते । काठमाडौं महानगरपालिकाले शङ्खमुलको दोभानमा सञ्चालन भइरहेको ‘प्रथम शङ्खमुल तीर्थ श्रावणी महोत्सव’ मा अवरोध गरेको छ ।

सार्वजनिक स्थलमा अनुमतिविना धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधारमा महानगर नगर प्रहरीको टोली शङ्खमुल पुगेको थियो ।

अनुमति विना हो–हल्ला हुनेगरी धार्मिक कार्यक्रम भइरहेको भन्ने गुनासो आएपछि कार्यक्रम नगर्न आयोजकलाई निर्देशन दिइएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिनुभयो । नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।

आयोजकले वडा कार्यालयमार्फत अनुमति लिएरै भएपनि धार्मिक महोत्सवलाई निरन्तरता दिने अडान राखेको थियो । सोही अडान बमोजिम आयोजक समिति वडा कार्यालयमा अनुमति लिन गएपछि महानगरको टोली फर्किएको छ ।

ओमकार फाउण्डेसन र दोभान विकास समितिको आयोजनामा १ साउनदेखि शङ्खमुलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुँदै आइरहेको छ ।

धार्मिक महोत्सवमा कोटेश्वर, शान्तिनगर, शङ्खमुल लगायत क्षेत्रका १३ वटा धार्मिक तथा सामाजिक संघसंस्थाहरु सहभागी भएका छन् ।