अस्पतालका लागि नगरपालिकाको सभाहल

काठमाडौँ, साउन ३० गते । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।

अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा उहाँले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताउनुभयो । उहाँले गोकर्णेश्वर नगरपालिकाका नागरिकको स्वास्थ्य बीमा निःशुल्क गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख रिसालले सात सय ५३ स्थानीय निकायमध्ये गोकर्णेश्वर नगरपालिका सम्पूर्ण नागरिकको निःशुल्क स्वास्थ्य बीमा लागू गर्ने पहिलो निकाय भएको बताउनुभयो । उहाँले अस्पातलसँग सहकार्य गरी नागरिकलाई सुलभ र सहजरूपमा सेवा उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नगरपालिकाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।

उहाँले अस्पतालले उपलब्ध गराएको सेवाहरूका बारेमा जानकारी गराउँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी गराउनुभयो । सो अवसरमा निःशुल्क साधारण बहिरङ्ग सेवा (ओपिडी) सेवा, यसैगरी रक्तदान तथा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरणसमेत गरिएको थियो ।