उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश

काठमाडौं, भदौ ५ गते । वडाध्यक्षलाई कार्यबाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको १ भदौको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसाताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् । विदेश जाने क्रममा शिवसाताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यबाहक दिनुभयो ।

यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालत जानुभएको थियो ।

उच्च अदालत, इलाम इजलासका न्यायाधीश मैनालीको इजलासले स्थानीय सरकार सञ्चालन ऐनमै ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षले कार्यभार सम्हाल्ने कानुनी व्यवस्था रहेको र पदसोपानमा अध्यक्षपछि उपाध्यक्ष हुने भएकाले वडाध्यक्ष अशोक सुब्बालाई कार्यबाहक दिने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।