
काठमाडौं, माघ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताउनुभयो । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उहाँले भन्नुभयो ।
आफू अभिमन्यु नभएको बताउँदै उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद खारेज गरेको थियो । त्यससँगै उहाँ उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त हुनुभएको थियो । तर आइतबार उहाँले पुनः नागरिकता लिने प्रक्रिया पूरा गर्नुभएको थियो ।
त्यसपछि रास्वपाले गृह मन्त्रालयमै दाबी गरिरहनुभएको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताउदै आउनुभएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।