बैठकमा प्रश्न उठेपछि अमेरिका जाने टोलीको आकार घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैहुनुहुन्छ । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिनुभएको हो । ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा हुनुहुन्थो ।

अहिले परराष्ट्रमन्त्री एनपी साउद गइिसक्नुभयो । बाँकी टोलीका सदस्यहरु कटाएर सानो बनाउने गृहकार्य छ । ‘मुख्य सचिवले ५ सदस्यीय बनाउने भन्नुभएको छ’ एक अधिकारी भन्नुभयो, ‘कोको भन्ने टुंगो लागेको छैन ।’