संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, भदौ २८ गते । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको छ । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभएको थियो ।

नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गरेका थिए ।