राजीनामाको समाचार सत्य नभएको मन्त्री कुलमान घिसिङको स्पष्टिकरण

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिएको भन्ने समाचारहरू असत्य भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सोमबार एक स्पष्टीकरण सार्वजनिक गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित ‘राजीनामा दिएको’ समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

मन्त्री घिसिङले लेखेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन भन्ने स्पष्ट पार्न चाहन्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।”

हाल केही सञ्चारमाध्यमहरूले मन्त्री घिसिङले राजीनामा दिन लागेको भन्ने समाचार प्रसारण गरेका थिए । तर घिसिङले ती समाचारहरूमा कुनै पनि तथ्य नभएको बताउँदै आफू जिम्मेवारीपूर्वक काममा सक्रिय रहेको स्पष्ट पारेका हुन् ।