मुस्ताङ – मुस्ताङको उत्तरी कोरलानाका हुँदै नेपाल भित्रिएका बीवाईडी कम्पनीका चिनियाँ विद्युतीय सवारीसाधन दुई सातापछि फुकुवा भएका छन् । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिएका ती विद्युतीय सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षको जिम्मा लगाएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका अनुसार पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशंकामा नियन्त्रणमा राखिएका सवारीसाधनमाथि छानबिनपछि कुनै समस्या नदेखिएपछि फुकुवा गरिएको हो ।
गत जेठको दोस्रो र तेस्रो सातामा मुस्ताङको उत्तरी कोरलानाका हुँदै बीवाईडी कम्पनीका ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए । तीमध्ये ६४९ वटा सवारीसाधनको मुस्ताङ भन्सार कार्यालय नेचुङबाट भन्सार जाँचपास भएको जनाइएको छ ।
तर कोरलानाकाबाट भित्रिएका ती सवारीसाधनको पैठारी प्रक्रियामा केही कैफियत हुनसक्ने आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तीन सदस्यीय छानबिन समिति गठन
विद्युतीय सवारीसाधनको आयात प्रक्रियाबारे अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको थियो।
अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गत मूल्यांकन शाखाका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिले गत जेठ २१ गते कास्की, पर्वत र मुस्ताङका विभिन्न स्थानमा सशस्त्र प्रहरीले नियन्त्रणमा राखेका विद्युतीय सवारीसाधनको स्थलगत निरीक्षण गरी अनुसन्धान सुरु गरेको थियो।
समितिको प्रारम्भिक अध्ययनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएको प्रारम्भिक निष्कर्ष आएको बताइएको छ।
कास्की, पर्वत र मुस्ताङमा राखिएका थिए सवारी
सशस्त्र प्रहरीले यसअघि कास्कीको हेमजामा ९८ वटा, पर्वतको कुश्मामा १७ वटा विद्युतीय सवारी नियन्त्रणमा लिएको थियो।
त्यस्तै मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम ल्याइएका २६६ वटा र कोरलानाकामै रहेका ३९४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा राखिएका थिए।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको हो।
२२३ वटा सवारी गन्तव्यतर्फ प्रस्थान
फुकुवा भएपछि जोमसोम बसपार्कमा राखिएका सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्। जोमसोम बसपार्कमा राखिएका २६६ मध्ये अब ४३ वटा मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
कोरलानाकामा रहेका सवारीसाधनमध्ये भन्सार जाँचपास भएका सवारी क्रमशः लैजान सकिने र जाँचपास नभएका सवारीले आवश्यक भन्सार प्रक्रिया पूरा गरेपछि लैजान सकिने व्यवस्था रहेको गुल्मले जनाएको छ।
छानबिनका क्रममा समस्या नदेखिएपछि लामो समय रोकिएका विद्युतीय सवारीसाधन पुनः आफ्नो गन्तव्यतर्फ जान थालेका छन्।



