काभ्रेपलाञ्चोक, — काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक र धार्मिक स्थल नमोबुद्धमा बौद्ध धर्मालम्बीहरूले ‘पितृ’का नाममा दीप प्रज्वलन गर्दै वार्षिक नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको यो जात्रा बुधबार बिहान विशेष धार्मिक विधि र दीप प्रज्वलनका साथ सम्पन्न भएको हो ।
कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु हुने यस जात्रामा तामाङ र नेवार समुदायका भक्तजनहरूले आफ्ना दिवंगत पितृहरूको सम्झनामा दुई दिन दुई रात लगातार दीप प्रज्वलन गर्छन् ।
नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङबज्र लामाका अनुसार यो मेला ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । उनले भने, “कात्तिक शुक्ल पूर्णिमाका दिनलाई शान्तिका प्रतीक भगवान गौतम बुद्धको पूर्वजन्ममा राजकुमारले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले यो स्थान ‘नमोबुद्धाय नमः’ बाट नमोबुद्ध नामले परिचित छ ।”
जनविश्वासअनुसार द्वापरयुगमा राजकुमारले आफ्नो जीवन त्याग गरी बघिनीलाई बचाएको स्थानमा चैत्य निर्माण गरिएको हो । त्यही स्थानमा दीप प्रज्वलन र पूजाअर्चना गर्दा पितृले मोक्ष प्राप्त गर्ने विश्वास रहिआएको अध्यक्ष लामाले बताए ।
मेलामा करिब एक हजार भक्तजनले नमोबुद्धमा दर्शन र पूजाअर्चना गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेला अवधिभर पारम्परिक गीत, बाजागाजा र नृत्य प्रदर्शन गरियो ।
मेलामा काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौँ, नुवाकोट, धादिङ, सिन्धुली, सिन्धुपाल्चोक र रामेछापलगायत जिल्लाबाट बौद्ध धर्मालम्बीहरूको सहभागिता रहेको थियो ।
नमोबुद्धका मूल लामागुरु कान्छा लामाका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका कान्छा छोराले भोकले तड्पिएको सुत्केरी बघिनीलाई आफ्नो शरीरको मासु खुवाएर ज्यान त्याग गरेका थिए । त्यस घटनालाई नै नमोबुद्धको उत्पत्तिसँग जोडिएको धार्मिक विश्वास रहिआएको छ ।
उनका अनुसार, “पाँच डमरु जन्माएकी बघिनी लक्ष्मी र पाँच डमरु भिक्षु मानिन्छन्।” राजकुमारको बलिदानपछि राजारानीले सोही ठाउँमा चैत्य निर्माण गरी बाँकी जीवन पूजा र सेवामा बिताएका थिए ।
नमोबुद्ध आज पनि देश–विदेशका बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थलका रूपमा परिचित छ। यहाँबाट ऐतिहासिक पनौतीसहितका हरियाली बस्ती र हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। हाल नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, चैत्य र बौद्ध मन्दिरहरू रहेका छन्, जसले यो स्थललाई अझ धार्मिक र पर्यटकीय आकर्षणको केन्द्र बनाएको छ ।



