म्याग्दी – धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाका कारण उड्ने धुलोले वायु प्रदूषण बढ्दै स्थानीय बासिन्दा प्रभावित भएका छन् । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनबाट उड्ने धुलोका कारण सडकमा हिँडडुल गर्न, घाँसदाउरा संकलन गर्न कठिनाइ हुनुका साथै गाईवस्तुको चरन र आहारा घाँसपातसमेत नष्ट भएको स्थानीयले गुनासो गरेका छन् ।
मुदी, खिवाङ, बगर, खाम्ला, बास्बोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी, बाँसबोट र नाउराका बासिन्दा धुलो प्रदूषणबाट आजित भएका हुन् । धवलागिरि गाउँपालिका–४ छहरीदेखि खारा हुँदै खाम्ला तथा वडा नं ३ दरदेखि सिम्वाङ हुँदै मुदी जोड्ने सडकखण्डमा उड्ने धुलोले वायु प्रदूषण बढाएको स्थानीयको भनाइ छ । मुना–दर–मुदी सडकको सिम्वाङ क्षेत्रमा दरखोला जलविद्युत् आयोजनाको पाइपलाइन निर्माणका लागि डोजर प्रयोग गरेर सडकको भित्ता काट्ने काम भइरहेको छ ।
छहरी–खारा–खाम्ला सडकखण्डमा अपर म्याग्दी, अपर म्याग्दी–१, म्याग्दीखोला लगायत जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण बोकेका ट्रक, टिपरलगायत सवारीसाधनको ओहोरदोहोर हुने गरेको छ । धवलागिरि गाउँपालिका–४ खिवाङका बासिन्दा लीलबहादुर घर्तीले सडकको धुलोले खेतीबाली र मानव स्वास्थ्यमा असर परेको गुनासो गरे । “विकासका आयोजना भित्रिएकामा खुसी थियौँ, तर हरियाली वनपाखा र बगैँचा धुलाम्मे हुँदा दुःखी छौँ,” उनले भने, “विकास होस्, तर वातावरण विनाश नहोस् भन्ने हाम्रो चाहना हो ।”
खाराका ज्ञानबहादुर पुनका अनुसार गाईवस्तुलाई खुवाउने घाँस, फलफूल र तरकारीका पातमा धुलो जमेर उपभोग गर्न नसकिने अवस्था आएको छ । “घरबाहिर गएर आउँदा शरीरभरि धुलो टाँसिन्छ, सुकाएका कपडासमेत फोहोर हुन्छन्,” उनले भने,“पानीका स्रोत पनि धुलोले दूषित बन्दै गएका छन् ।”
खाम्लाका केशरमान पुनले सवारीसाधनभित्र सिसा थुन्दा उकुसमुकुस हुने र झ्याल खोले धुलोले भरिने समस्या रहेको बताए । “मोटरसाइकल र गाडीको पछाडि यात्रा गर्नेको अनुहारसमेत नचिनिने अवस्था हुन्छ,” उनले भने, “आयोजनाले सडकमा पानी नहालेकाले प्रदूषण बढेको हो ।”
धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएका धुलो नियन्त्रणसम्बन्धी प्रतिबद्धता कार्यान्वयन नभएको बताए । कात्तिकको दोस्रो सातादेखि वर्षा नभएकाले मौसम सुक्खा रहँदा समस्या झनै बढेको उनको भनाइ छ ।
अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले भारवाङदेखि छहरीस्थित अडिटसम्म तथा खाम्लादेखि बाँध निर्माणस्थलसम्म ट्याङ्करबाट पानी हालेर धुलो नियन्त्रण गर्दै आएको जनाएको छ । अपर म्याग्दी जलविद्युत् आयोजनाले पनि घिम्लेटीबाट नाउरा हुँदै चेचुङको फेदीसम्म सडकमा पानी हालेर धुलो मारेको छ ।
अपर म्याग्दी–१ आयोजनाका प्रमुख ज्योतिकुमार केसीले छहरी–खारा–खाम्ला सडक स्तरोन्नतिको जिम्मा लिएको सहायक ठेकेदारले समयमा काम नगर्दा धुलो नियन्त्रणमा समस्या भएको बताए । यता, सहायक ठेकेदार चोचाङ्गी पुन कन्स्ट्रक्सनका सञ्चालक दलमान पुनले सडक संरचना निर्माण आफ्नो जिम्मेवारी भएको र धुलो नियन्त्रण आयोजनाकै दायित्व भएको दाबी गरे ।
अपर म्याग्दी जलविद्युत् आयोजनाका प्रमुख रमेश सुवेदीले आफ्नो आयोजना क्षेत्रमा धुलो नियन्त्रण गरिएको र नाउरादेखि बगर जोड्ने सडकमा म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर प्रदूषण नियन्त्रण गरिने बताए ।



