चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

महेंद्रनगर — पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ वटा पुलको मर्मत तथा सुरक्षा सुदृढीकरण कार्य सुरु गरिएको छ । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म रहेका पुलहरूमा मर्मत अघि बढाएको हो ।

पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथिका पुल मर्मतको दायरामा छन् ।

उनका अनुसार विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत १ करोड ९१ लाख ८२ हजार ४८२ रुपैयाँ लागतमा मर्मत कार्य भइरहेको छ । पुलको अवस्था (कन्डिसन रेटिङ) मूल्याङ्कन गरी समस्या पहिचानपछि प्राथमिकताका आधारमा मर्मत अघि बढाइएको शाहले जानकारी दिए ।

मर्मत कार्यमा सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट र रेलिङ मर्मतजस्ता प्राविधिक काम समावेश छन् । गत मङ्सिर २१ गतेदेखि सुरु भएको मर्मत कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

नियमित मर्मत र सुरक्षा सुदृढीकरणपछि राजमार्गमा सवारी आवागमन थप सुरक्षित हुनुका साथै पुल तथा सडक पूर्वाधारको दीगो उपयोगिता बढ्ने विश्वास आयोजना कार्यालयले व्यक्त गरेको छ ।