बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

काठमाडौं – पटकपटकको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त खण्डमा करिब दुई महिनाअघि स्थायी निर्माण सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाअन्तर्गत क्षतिग्रस्त सडकखण्डको पुनर्निर्माण कार्य हाल तीन स्थानबाट सुरु भइसकेको छ । क्षतिग्रस्त करिब ३० किलोमिटर सडक आगामी दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बाढीले क्षति पु-याएका खण्डमा तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटिएर तीव्र रूपमा काम गरिरहेका छन्। यद्यपि जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम भने हालसम्म सुरु हुन सकेको छैन ।
“जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ,” योगेशले भने ।

गत वर्षको बाढीले क्षति पु¥याएका स्थानहरूमा ‘आरसिसी’ पर्खाल निर्माणको काम भइरहेको छ । चौकीडाँडामा खोलाबाट प्लम पर्खाल लगाउने तथा चारसयबेँसी र भकुण्डेबेँसीमा आरसिसी पर्खाल निर्माण सुरु गरिएको छ। यस्तै डालावेँसी, मङ्गलटार खण्ड र चारसयबेँसीदेखि नार्केसम्म सडक चौडा गर्ने कामसमेत भइरहेको कार्यालयले जनाएको छ ।

गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ भई पूर्ण रूपमा क्षति पुगेका स्थानमा बाढी प्रतिरोधी संरचना निर्माणका लागि विशेष डिजाइन तयार गरिएको छ । आगामी वैशाखसम्म बाढीले क्षति पु-याएका स्थानमा संरचना निर्माण सम्पन्न गरी आउँदो वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्ने गरी साविककै स्थानबाट सडक सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण र सडक चौडा गर्ने काम सम्पन्न गर्ने तथा आगामी वर्ष बाँकी रहेका खण्डमा कालोपत्रसहित पुनर्निर्माण सम्पन्न गर्ने योजना रहेको योगेशले जानकारी दिए ।

अबको पुनर्निर्माणमा बिपी राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिनेछ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ । साथै विद्यमान पुलसँगै अर्को पुल निर्माण गरी पुलहरू पनि दुई लेनमा परिणत गरिनेछ,” योगेशले बताउनुभयो। हाल पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने अध्ययन भइरहेको छ ।

डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु १ अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित) मा ठेक्का पाएको छ । चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११.०८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले रु १ अर्ब ३३ करोड ५३ लाखमा निर्माण गर्नेछ । नेपालथोकदेखि बर्खेखोलासम्मको ४.९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग रु ६१ करोडमा ठेक्का सम्झौता गरिएको छ ।

क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक भने जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिनेछ । यस खण्डका लागि ठेक्का प्रक्रियाको काम भइरहेको र जापान सरकारले करिब रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भइसकेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल रु ८ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु ७ अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डका लागि रु १ अर्ब स्रोत सुनिश्चित गरिएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको १६० किलोमिटर लामो बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा बिपी राजमार्गलाई लिइँदै आएको छ ।