महाभारत गाउँपालिकामा ३० वर्षमाथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण

धुलिखेल, – काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ अभियान आजदेखि सञ्चालनमा आएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं. ६ बनखुको मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी माघ २८ गतेसम्म ४१ केन्द्रबाट समुदायस्तरमै स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार समुदायमा लुकेर रहेका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने, मिर्गौलासम्बन्धी समस्या समयमै पहिचान गर्ने तथा स्वस्थ जीवनशैली र नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टका अनुसार हाल नियमित परीक्षणमार्फत उच्च रक्तचापका बिरामीलाई औषधि सेवन गराइँदै आएको छ भने १६ जना मधुमेहका बिरामी उपचारमा छन् । परीक्षणअन्तर्गत उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको कार्य परीक्षण तथा उचाइअनुसार तौलको अनुपात (बीएमआई) जाँच सेवा उपलब्ध गराइएको उनले बताए ।

अभियानको पहिलो दिन बनखु स्वास्थ्य चौकीमा १४१ जनाले सेवा लिएका छन् । नसर्ने रोगका कारण व्यक्ति, परिवार र राज्यको ठूलो खर्च भइरहेको भन्दै पालिकाले रोगको समयमै पहिचान र जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण र परामर्श सेवा विस्तार गरेको जनाएको छ ।

गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा निःशुल्क परीक्षण अभियानमार्फत एक हजार ९०७ जनामा नसर्ने रोगको जाँच गरिएको थियो । तीमध्ये १४१ जनाले हाल नियमित औषधि सेवन गरिरहेका छन् र आवश्यक औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।