नीति कागजमा, समस्या गाउँमा : हिमालीमा देखिएको स्वास्थ्य खाडल

बाजुरा, — दुर्गम भौगोलिक अवस्था, सीमित स्वास्थ्य पूर्वाधार र सामाजिक कारणबीच हिमाली गाउँपालिकामा महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । हालै सञ्चालन गरिएको पाँचदिने घुम्ती स्वास्थ्य शिविरले यहाँको वास्तविक अवस्था उजागर गरेको हो ।

चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालन गरिएको शिविरमा गाउँपालिकाका सातै वडाका एक हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । वडा नं. ४, ६ र ७ को धुलाचौर, वडा नं. ५ को कुवाडी तथा वडा नं. १, २ र ३ को विच्छ्याँमा आयोजना गरिएको शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोलीले प्रजनन स्वास्थ्यदेखि नसर्ने रोगसम्मको परीक्षण तथा उपचार गरेको थियो ।

स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीका अनुसार शिविरमा पाँच सयभन्दा बढी महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको छ । साथै १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण तथा मधुमेहजस्ता नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । ६२ जनाको भिआईए विधिबाट पाठेघरको क्यान्सर जाँच गरिएको र १४ जनामा क्षयरोग परीक्षणसमेत गरिएको जानकारी उनले दिए ।

शिविरमा संलग्न चिकित्सक डा रञ्जित शाहका अनुसार उपचारमा आएका महिलामध्ये ५० प्रतिशतभन्दा बढीमा पाठेघर खस्ने समस्या देखिएको छ । “महिनावारी र सुत्केरी अवस्थामै गह्रौँ काम गर्नु, भारी बोक्ने बानी र आरामको अभाव यसका प्रमुख कारण हुन सक्छन्,” उनले भनिन् ।

स्वास्थ्य शाखा प्रमुख भण्डारीले पनि कामको अत्यधिक बोझ, पोषिलो आहारको कमी र बालविवाहजस्ता सामाजिक कारणले यस्तो समस्या बढी देखिएको उल्लेख गरे । यस्तै, विच्छ्याँको माथिल्लो हिमाली क्षेत्रमा नसा सम्बन्धी रोगसमेत उल्लेख्य रूपमा देखिएको छ ।

स्थानीय स्तरमा स्वास्थ्य सेवा भने अझै सीमित छ । गाउँपालिकामा रहेका आधारभूत स्वास्थ्य इकाइहरूमा प्राथमिक उपचार मात्र उपलब्ध हुने भएकाले जटिल समस्या देखिए बिरामीलाई कोल्टी वा जिल्ला अस्पताल मार्तडी पुग्नुपर्ने बाध्यता छ ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार स्थानीय तहले नागरिक उपचार सहायता कोषमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । “ग्रामीण भेगमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न शिविर प्रभावकारी भएको छ,” उनले भने, ।

राज्यको भूमिकाः नीति छ, कार्यान्वयन कमजोर ?

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेको छ भने नेपाल सरकारले विभिन्न नीतिमार्फत आधारभूत स्वास्थ्य सेवा गाउँ–गाउँसम्म पुर्‍याउने लक्ष्य राखेको छ । सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य सेवा, पोषण कार्यक्रम र निःशुल्क आधारभूत स्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू कागजमा पर्याप्त देखिन्छन् ।

तर हिमाली गाउँपालिकाको वास्तविकताले नीति र कार्यान्वयनबीचको दूरी प्रस्ट देखाउँछ । दुर्गम क्षेत्रमा अझै पनि विशेषज्ञ सेवा, उपकरण, औषधि र दक्ष जनशक्ति अभाव हुनु राज्यका लागि गम्भीर चुनौती बनेको छ ।

विशेषगरी महिलाको प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नियमित सेवा भन्दा पनि घुम्ती शिविरमा निर्भर रहनुपर्ने अवस्था हुनु दीर्घकालीन समाधान होइन । यसले स्वास्थ्य सेवा प्रणाली अझै पहुँचमुखी र दिगो बन्न नसकेको संकेत गर्छ।

संरचनात्मक समस्या र समाधानको बाटो

हिमाली गाउँपालिकामा देखिएको अवस्था ग्रामीण नेपालमा स्वास्थ्य सेवा अझै आधारभूत चरणमै रहेको संकेत हो । आधाभन्दा बढी महिलामा पाठेघर खस्ने समस्या देखिनु केवल चिकित्सकीय विषय होइन—यो सामाजिक संरचना, श्रम विभाजन, पोषण अवस्था र चेतनासँग जोडिएको बहुआयामिक समस्या हो।

घुम्ती शिविरहरूले तत्काल राहत दिए पनि दीर्घकालीन समाधानका लागि राज्यले निम्न पक्षमा ध्यान दिनुपर्ने देखिन्छः

जस्तै दुर्गम क्षेत्रमा स्थायी स्वास्थ्य पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता, महिलामैत्री स्वास्थ्य कार्यक्रम र सचेतना अभियान, पोषण सुधार र बालविवाह न्यूनीकरण, नियमित स्क्रिनिङ र अनुगमन प्रणाली, यदि यी पक्षमा ठोस कदम चाल्न सकिएन भने यस्ता समस्या दोहोरिइरहनेछन् ।

अन्ततः, हिमाली गाउँपालिकाको यो तस्वीर केवल एउटा गाउँको कथा होइन यो राज्यको स्वास्थ्य प्रणालीले अझै पार गर्नुपर्ने दूरीको संकेत हो ।