नवलपरासी — नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी क्षेत्रमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । खानी तथा भूगर्भ विभागले विभिन्न चरणमा गरेको अध्ययन र अनुसन्धानपछि यो निष्कर्ष सार्वजनिक गरिएको हो ।
विभागका विज्ञहरूका अनुसार स्थानीय नाम्जाकोटदेखि धौवादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर लामो भूभागमा फलामको ‘बिलेड’ फेला परेको छ । करिब ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो खानीलाई नेपालको प्रमुख खनिज सम्भावनामध्ये एक मानिएको छ ।
फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित “धौवादी फलाम कम्पनी लिमिटेड” स्थापना भइसकेको छ र कम्पनीले थप विस्तृत अनुसन्धान तथा प्राविधिक तयारी अघि बढाइरहेको जनाएको छ । कम्पनीका निर्देशक शैलेशकुमार थापाका अनुसार खानीबाट दैनिक करिब एक हजार ५०० टन फलाम उत्पादन गर्ने क्षमता रहने अनुमान गरिएको छ, जसअनुसार ६० वर्षसम्म निरन्तर उत्पादन सम्भव हुने देखिन्छ ।
उनका अनुसार वार्षिक रूपमा करिब पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने र यसले नेपालमा हाल आयात भइरहेको फलामको करिब २५ प्रतिशतसम्म प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको छ ।
खानी सञ्चालनसँगै वातावरणीय प्रभावको मूल्याङ्कन प्रक्रिया जारी रहेको छ भने विस्तृत परियोजना प्रतिवेदन (म्एच्) को काम पनि छिट्टै अघि बढाइने कम्पनीले जनाएको छ। हाल खानी क्षेत्रमा पुग्ने सडक तथा पूर्वाधार स्तरोन्नतिको काम समेत भइरहेको छ ।
परियोजनाले स्टिल उद्योगको विकास, ठूलो मात्रामा रोजगारी सिर्जना र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। खानी तथा भूगर्भ विभागका अर्का निर्देशक दिलीपकुमार झाका अनुसार यस्तो ठूलो खानी सञ्चालन भएमा स्वदेशी पुँजी स्वदेशमै परिचालन भई आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्नेछ ।
यसरी धौवादी फलाम खानी नेपालको औद्योगिक भविष्यका लागि रणनीतिक महत्वको परियोजना बन्ने संकेत देखिएको छ ।



