काभ्रेपलाञ्चोक, – अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ । तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस आयोजनामा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना का अनुसार थपिएको समयभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई लेन रहेको सडकलाई छ लेनमा विस्तार गरिँदैछ, जसमा दायाँबायाँ सर्भिस लेन र २.५ मिटर चौडाइको फुटपाथ निर्माण भइरहेको छ ।
आयोजनालाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । साँगा–धुलिखेल (८ किमि) खण्डमा लामा कन्स्ट्रक्सन प्रालि ले रु चार अर्ब ५ करोड ६४ लाखमा काम गरिरहेको छ। यस खण्डमा हाल करिब ६० प्रतिशत काम सम्पन्न भएको छ भने पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत पुगेको जनाइएको छ ।
त्यस्तै सूर्यविनायक–साँगा खण्डमा ५५ प्रतिशत प्रगति भएको छ । यस खण्डमा ‘सेन्टर लाइन’ विवादका कारण लामो समय काम अवरुद्ध भए पनि हाल पुनः तीव्र गतिमा निर्माण भइरहेको छ । जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा काम अघि बढाइएको आयोजनाले जनाएको छ ।
७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा खण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा निर्माण भइरहेको छ । हाल यस क्षेत्रमा टेवा पर्खाल, नाली तथा ‘कल्भर्ट’ निर्माण भइरहेको छ। साँगा क्षेत्रमा भौगोलिक जटिलता—ठूलो घुम्ती र भिर—का कारण काममा केही कठिनाइ देखिएको छ ।
यस सडकखण्डमा पर्ने तीन पुलमध्ये महादेव खोलामा पुल निर्माण भइरहेको छ भने अन्य दुई पुलको डिजाइन हालै सम्पन्न भएको छ। स्थानीय तथा जनप्रतिनिधिको मागका कारण ढिलाइ भएको डिजाइन प्रक्रिया अब पूरा भइसकेको आयोजनाले जनाएको छ ।
चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएपछि यस मार्गमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ । हाल कोटेश्वरबाट दैनिक २,५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
सडक विस्तार सम्पन्न भएपछि काठमाडौँ उपत्यका र पूर्वी नेपालबीचको यातायात अझ सहज हुने अपेक्षा गरिएको छ ।



