युवालाई रोजगारीमुखी फोटोग्राफी तालिम दिन महानगर–चलचित्र विकास बोर्डबीच सम्झौता

काठमाडौं – काठमाडौँ महानगरपालिकाले युवाहरुलाई सिपमूलक तथा रोजगारमुखी फोटोग्राफी तालिम प्रदान गर्ने उद्देश्यले चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत आज भएको कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र बोर्डका अध्यक्ष दिनेशराज दहालबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले चलचित्र क्षेत्रलाई सहरको सांस्कृतिक जीवन्ततासँग जोड्दै काठमाडौँलाई खुला स्टूडियोका रूपमा विकास गर्ने सम्भावना औंल्याइन् । चलचित्र र श्रव्यदृश्य माध्यममार्फत समाजका विविध पक्षलाई सशक्त रूपमा प्रस्तुत गर्न सकिने बताउँदै उनले डवली, चोक र ननीहरूमा चलचित्र प्रदर्शन, निर्माताहरूसँग अन्तरसंवाद तथा समुदायस्तरमा श्रव्यदृश्य सामग्री उत्पादन सम्बन्धी तालिम सञ्चालन गर्ने योजना रहेको जानकारी दिइन् ।

उनले भित्री सहरका सांस्कृतिक स्थलहरूमा कार्यक्रम सञ्चालन गरेजस्तै बाहिरी वडाका पार्कहरूमा पनि चलचित्र प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको उल्लेख गरिन् । यस कार्यलाई दिगो र सहभागितामूलक बनाउन क्षेत्रगत विज्ञ तथा साझेदारसँग सहकार्य गरिने पनि उनले बताइन् ।

त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दहालले सहरलाई चलचित्रमार्फत जीवन्त बनाउने अभियानमा बोर्ड सधैं सहकार्यका लागि तयार रहेको बताए । फोटोग्राफी तालिमबाट सहकार्यको सुरुआत गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा रचनात्मक उद्योगको विकास र प्रवद्र्धनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौताअनुसार बोर्डले फोटोग्राफी कोर्षका आधारमा ४० जनालाई तालिम प्रदान गर्नेछ । तालिम सञ्चालनको लागतमा काठमाडौँ महानगरपालिकाले ८० प्रतिशत र चलचित्र विकास बोर्डले २० प्रतिशत लागत साझेदारी गर्ने जनाइएको छ ।