बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी, प्रधानमन्त्रीसहितले जवाफ दिने कार्यसूची

काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभा बैठकबाट पारित हुने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची तय गरिएको छ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनेछन्।

त्यसैगरी पूर्वाधार विकास मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, परराष्ट्र मन्त्री तथा रक्षा मन्त्रीले पनि बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हालेकाले उहाँले नै जवाफ दिने कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री बालेनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्बन्धी शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि जवाफ दिनेछन्।

जवाफपछि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका खर्च शीर्षकमा दर्ता भएका २० वटा खर्च कटौती प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि विनियोजन विधेयक २०८३ का दफाहरू निर्णयार्थ प्रस्तुत गरिने र अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यससँगै चालु आर्थिक वर्षको बजेट आज प्रतिनिधि सभाबाट पारित हुने प्रक्रिया पूरा हुनेछ।