काठमाडौँ – तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारसहित आसपासका बस्तीमा अकल्पनीय क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाका अनुसार गत वर्षको बाढीको तुलनामा यसपटक कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको छ। बाढीबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
डीएसपी थापाका अनुसार बाढीका कारण दर्जनौँ बस्ती तथा बजार क्षेत्रमा क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएको उनले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूसँग सम्पर्क हुन सकेको छैन। तटीय क्षेत्रमा परिचालित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीसमेत सम्पर्कमा आउन नसकेको बताइएको छ।
बुधबार बिहान करिब ९ बजे टिमुरे बजार क्षेत्रमा एक्कासि ठूलो बाढी आएको थियो। बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बाढीको बहाव अत्यन्त तीव्र रहेकाले क्षतिको यकिन विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा सम्पर्क स्थापना तथा क्षतिको विवरण सङ्कलनका लागि प्रयास भइरहेको छ।
बाढीका कारण रसुवाको भोटेकोशी नदी आसपासका तटीय क्षेत्रमा थप जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



