भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि आवश्यक कदम चाल्न आपत्कालीन बैठक बाेलाएका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठक बाेलाएका हुन् । बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्रीले बाढी प्रभावित तथा जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसक्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसैगरी, उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई आवश्यक स्रोतसाधनसहित परिचालन गर्न तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको जनाइएको छ।

बाढीको बहाव नुवाकोटसम्म पुगेको छ भने रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढेको भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सरकारले सम्भावित उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्नेसहित आवश्यक तयारीसमेत अघि बढाएको छ।