काठमाडौं – तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि चारबुँदे तयारी अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ।
सरकारले विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाएको छ। बाढीको अवस्था तथा सम्भावित जोखिमको निरन्तर निगरानी गर्दै आवश्यक समन्वय र व्यवस्थापनको काम प्राधिकरणमार्फत अघि बढाइएको जनाइएको छ।
त्यसैगरी, भोटेकोशी तथा अन्य नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिइएको छ।
सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन देशभर उपलब्ध सबै हेलिकप्टरलाई तयारी अवस्थामा अर्थात् स्ट्यान्डबाइमा राख्नसमेत भनिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने नदीका तटीय क्षेत्रमा जोखिम बढेको भन्दै ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा नजान, जोखिमयुक्त स्थानमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न सरकारले आग्रह गरेको छ।
यसअघि तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको थियो। बाढीबाट प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएको र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जनाइएको छ।



