काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यका लागि सवारीसाधानलाई रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले चैत पहिलो सातादेखि दुई हप्ता सडक पक्की बनाउन काम तीव्रता दिने जनाएको छ ।
कार्यालयका अनुसार लामो समय निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि स्तरोन्नति काम सुरु गरिएको हो। सडकखण्डको चार किलोमिटर दूरीमध्ये चैत महिनामा दुई दशमलव पाँच किलोमिटर पक्की गरिने र बाँकी वैशाखमा सकाइने लक्ष्य राखिएको छ ।
सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशका अनुसार चैत ७ गतेदेखि २० गतेसम्म राति मालवाहक सवारीसाधान पूर्ण रूपमा रोकिनेछ । हाल साना संरचना र टेवा पर्खाल निर्माण भइरहेको छ भने सतह (सर्फेस्)को काम चिसो मौसम कम भएपछि गर्ने योजना छ ।
कार्यालयले १४ महिनामा काम सम्पन्न गर्ने लक्ष्यसहित सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको छ। सडकका विभिन्न खण्डमा पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधि प्रयोग गरिने भएको छ ।
स्थानीयहरूका अनुसार निर्माण ढिलाइका कारण तीन वर्षदेखि राजमार्गमा यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरी गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो। नयाँ निर्माण कम्पनी समयमा काम सक्नेमा आशावादी रहेको छ ।
धुलिखेल–खावासम्मको उक्त सडक अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी र छिमेकी जिल्ला दोलखा, रामेछापतर्फ जाने मुख्य मार्गसमेत रहेको छ। यात्रुहरूले ढिलो, धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिममा यात्रा गर्दै आएका थिए ।
सडक बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस राखिने छ भने दुई चरणमा डिबिएम र आस्फाल्ट कालोपत्र गर्ने योजना बनाइएको छ ।



