हेटौँडा – लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै उद्योगको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था परीक्षण गर्ने काम सुरु भएको छ।
सरकारले उद्योग पुनः सञ्चालन गर्ने योजना अघि बढाएपछि सम्बन्धित निकायहरूले स्थलगत अनुगमन, उपकरण परीक्षण तथा पूर्वाधार मूल्याङ्कनका काम तीव्र बनाएका छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगभित्र रहेका मेसिन, उपकरण र अन्य संरचनाको अवस्था अध्ययन गरी सञ्चालनयोग्य बनाउने सम्भावनाबारे परीक्षण भइरहेको छ।
हेटौँडा कपडा उद्योग विसं २०३२ मा स्थापना भएको थियो। उद्योगले विसं २०३५ देखि २०५६ सम्म कपडा उत्पादन गरेको थियो। त्यसपछि विभिन्न कारणले विसं २०५७ देखि उद्योग पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरेपछि सम्बन्धित सरकारी निकायले स्थलगत अनुगमन र प्राविधिक मूल्याङ्कनलाई प्राथमिकताका साथ अघि बढाएको भण्डारीले जानकारी दिनुभयो।
हेटौँडा कपडा उद्योगसँगै लामो समयदेखि बन्द रहेका बुटवल धागो उद्योग र बाँकेको कपास प्रशोधन कारखाना पुनः सञ्चालनको विषयमा पनि सरकारको चासो बढ्दै गएको छ।
उद्योग पुनः सञ्चालन हुन सकेमा स्वदेशी कपडा उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा औद्योगिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



