धान र तोरी छाडेर अम्बा खेती, एक सिजनमै साढे दुई लाख आम्दानी गर्छिन् सिर्जना

बाँके – बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टले चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी प्रजातिको अम्बा लगाउने निर्णय गर्दा यसबाट यति राम्रो आम्दानी होला भन्ने खासै अनुमान गर्नुभएको थिएन। धान र तोरी खेती हुँदै आएको खेतमा सुरु गरिएको व्यावसायिक अम्बा खेती अहिले उहाँका लागि परम्परागत खेतीभन्दा राम्रो आम्दानीको स्रोत बनेको छ।

विष्टका अनुसार अम्बा खेतीबाट अहिले एक सिजनमा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। अम्बाको वर्षमा दुई सिजन उत्पादन हुने भएकाले आम्दानीको सम्भावना पनि राम्रो रहेको उहाँ बताउनुहुन्छ।

“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक सिजनमा करिब दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भनिन् ।

धान र तोरी फलाउँदै आएको खेतमा फलफूल खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागेको भए पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छन् ।

“अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै मेहनत गर्नुपर्दैन। त्यसैले अन्न फल्ने खेतमा व्यावसायिक रूपमा अम्बा लगायौँ। अहिले आम्दानी पनि सोचेजस्तै हुन थालेको छ,” उनले भनिन् ।

भारतबाट बिरुवा ल्याएर खेती

भारतबाट बिरुवा ल्याएर अम्बा खेती सुरु गर्नुभएकी विष्टको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन्। केही स्थानीय जातका अम्बाका बिरुवासमेत लगाइएको छ।

उत्पादन भएको अम्बालाई किरा तथा चराचुरुङ्गीबाट जोगाउन उहाँले फलमा प्लास्टिक प्याकिङ गर्ने प्रविधि अपानाएकि छन् ।

“प्लास्टिकले प्याक गर्दा फल किरा र सुगाबाट जोगिन्छ, रङ पनि राम्रो देखिन्छ र बजारमा आकर्षक हुन्छ,” उनले भनिन् ।

विष्टले अम्बाबाट व्यावसायिक आम्दानी लिन थालेको भने करिब डेढ वर्ष मात्र भएको बताइन् । उनकाे अनुभवमा धान र गहुँको तुलनामा अम्बा खेती गर्न सहज छ।

“बिस्तारै गर्दै जाँदा राम्रो होला भनेर सुरु गरेकी हुँ। अहिले ठीकठीकै आम्दानी भइरहेको छ, नराम्रो छैन,” उनले भनिन् ।

बगैँचामै पुग्छन् व्यापारी

उत्पादन भएको अम्बा पाकेपछि विष्ट आफैँले टिप्ने गर्नुहुन्छ। तर बगैँचा ठेक्कामा दिँदा भने खरिदकर्ता आफैँ आएर फल टिपेर लैजाने गरेका छन्।

अम्बा बिक्रीका लागि बजारको समस्या नरहेको उनकाे अनुभव छ। बगैँचामा अम्बा तयार भएपछि व्यापारीहरू आफैँ आउने गरेका छन्। कतिपय ग्राहकले घरबाटै अम्बा खरिद गर्ने गरेका छन् भने मुख्य रूपमा मण्डीका व्यापारीले खरिद गरेर नेपालगञ्ज बजार लैजाने गरेका छन्।

हाल विष्टको बगैँचामा उत्पादित अम्बाको मुख्य बजार नेपालगञ्ज हो।

आम्दानी बढेपछि खेती विस्तारको योजना

परम्परागत अन्नबालीबाट व्यावसायिक फलफूल खेतीतर्फ लाग्नुभएकी विष्ट आगामी दिनमा अम्बा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ।

“अहिलेको आम्दानीले हौसला बढाएको छ। मेहनत गर्दै गए भविष्यमा अझ राम्रो आम्दानी गर्न सकिन्छ भन्ने विश्वास छ,” उनले भनिन् ।

विष्टको व्यावसायिक अम्बा खेतीले स्थानीयस्तरमा प्रशंसा मात्र पाएको छैन, अन्य किसानलाई समेत परम्परागत खेतीबाट व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गरेको छ। धान–तोरी खेतीबाट हुने आम्दानीको विकल्प खोजिरहेका किसानका लागि उहाँको अम्बा खेती कम मेहनतमा राम्रो आम्दानी लिन सकिने सम्भावनाको उदाहरण बनेको छ।