काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको ३४औँ दिन बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार संकलित कुल राजस्वमध्ये मूल्य अभिवृद्धि कर (भ्याट)को हिस्सा सबैभन्दा धेरै ३४.०४ प्रतिशत रहेको छ। त्यस्तै, आयकरतर्फ २२.१७ प्रतिशत, अन्तःशुल्कतर्फ १५.४६ प्रतिशत र भन्सार महसुलतर्फ १४.५५ प्रतिशत राजस्व संकलन भएको छ।
यसैगरी, अन्य शीर्षकबाट १३.७८ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त लक्ष्यलाई ‘मिसन १६ खर्ब’ नाम दिनुभएको छ।
राजस्व चुहावट नियन्त्रण गर्दै उच्च राजस्व लक्ष्य हासिल गर्ने उद्देश्यले अर्थ मन्त्रालय मातहतका निकायलाई ‘मिसन मोड’मा काम गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिँदै आउनुभएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल १२ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व लक्ष्य गत आर्थिक वर्षको वास्तविक संकलनभन्दा ३ खर्ब ३१ अर्ब रुपैयाँ बढी हो।



