हलेसी तुवाचुङमा भूमि प्रशासन सेवा सुरु, अब मालपोतका लागि दिक्तेल धाउन नपर्ने

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटाउने उद्देश्यले नगरपालिकाले सोमबारदेखि स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गरेको हो।

भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुने सेवामध्ये बायोमेट्रिकबाहेकका अधिकांश सेवा स्थानीय तहमै उपलब्ध हुने नगरप्रमुख विमला राईले जानकारी दिए। जिल्लाका १० स्थानीय तहमध्ये भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने हलेसी तुवाचुङ पहिलो स्थानीय तह बनेको छ।

सेवा सञ्चालनमा आएसँगै नगरवासीले जग्गा तथा मालपोतसम्बन्धी सामान्य कामका लागि सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता हटेको छ। नगरपालिकामा ११ वटा वडा रहेका छन्।

नेपालको संविधानले भूमिसम्बन्धी केही अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा यसअघि भूमि प्रशासनसम्बन्धी सेवा सम्बन्धित कार्यालयबाटै प्रवाह हुँदै आएको थियो। आवश्यक तयारी पूरा गरेपछि हलेसी तुवाचुङले पहिलोपटक स्थानीय तहबाटै यस्तो सेवा सुरु गरेको हो।

भूमि प्रशासन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार भूमि शाखामार्फत राजीनामा, हक निस्सा राजीनामा, दर्ता, सगोलनामा, हालसाबिक, बकसपत्र, त्यसपछिको बकसपत्र तथा सट्टापट्टालगायतका सेवा उपलब्ध हुनेछन्। त्यस्तै अंशबन्डा, अंश भरपाई, अंश छोडपत्र, करारनामा, मञ्जुरिनामा, अख्तियारनामा तथा घरबहाल करसम्बन्धी सेवासमेत स्थानीय तहबाटै प्रदान गरिनेछ।

नापी कार्यालयअन्तर्गत कित्ता नापी, नक्सा प्रिन्ट तथा बिक्री, कित्ता कार्ड, कित्ता एकीकरण, जग्गा छुट्याउने तथा नक्सामा घर, बाटो वा अन्य पूर्वाधार कायम गर्नेलगायतका सेवा पनि नगरपालिकाबाटै उपलब्ध हुनेछन्।

तर, सशस्त्र द्वन्द्वका क्रममा मालपोत कार्यालयमा आगजनी हुँदा भूमिसम्बन्धी पुराना अभिलेख जलेका कारण सबै जग्गाधनीले तत्काल स्थानीय तहबाटै सेवा पाउने अवस्था भने छैन। प्रणालीमा अभिलेख प्रविष्ट भई स्रेस्ता कायम भएका तथा डिजिटल जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका जग्गाधनीको हकमा मात्रै हाल स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गरिने अधिकृत कार्कीले बताए ।

प्रणालीमा अभिलेख नदेखिएको अवस्थामा नयाँ स्रेस्ता कायम गर्नुपर्ने सेवाग्राहीले भने अझै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता रहने भूमि प्रशासन कार्यालयले जनाएको छ।

विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा बजार तथा बस्ती विस्तार तीव्र गतिमा भइरहेको छ। जग्गाको कारोबार तथा नापीसम्बन्धी कामसमेत बढिरहेका बेला भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सुरु भएपछि नगरवासीलाई समय र खर्च दुवैमा राहत पुग्ने अपेक्षा गरिएको छ।