दसैँका लागि अग्रीम टिकट बुकिङ खुला

काठमाडौँ, असोज २२ गते । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्र्रिम टिकट बुकिङ खुला गरेको हो । घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लाग्नुभएका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुग्नुभयो । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुग्नुभएका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाउनुभएको छैन । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उहाँ भन्नुहुन्छ । काठमाडौँबाट दार्चुलाको भाडादर रु रु चार हजार छ सय छ ।

यस्तै, काठमाडौँबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आउनुभएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा हुनुहुन्छ । काठमाडौँको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौँदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उहाँ बिहान ५ बजेदेखि नै लाइनमा हुनुहुन्छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

धनगढीकै कपिल ओझा काठमाडौँदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताउनुहुन्छ । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैँको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उहाँ भन्नुहुन्छ । काठमाडौँदेखि धनगढीको बस भाडा रु दुई हजार सात सय रहेको छ ।

यस्तै, काठमाडौँदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आउनुभएको छ । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आउनुभएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत गर्नुहुन्छ ।

यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आउनुभएको छ । उहाँले एक घण्टा लाइन बसेर सहजै टिकट लिनुभयो । काठमाडौँदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताउनुहुन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दसैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताउनुहुन्छ । “अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ । उहाँ यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताउनुहुन्छ ।

यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्ल दसैँमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको बताउनुहुन्छ । “अहिले २४ टिकट बुकिङ काउण्टर थप गरेका छौँ, आवश्यक परेको खण्डमा काउण्टर बढाउन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दैैै आएका छन् ।