इजरायलबाट २५० जना नेपाली विमान चढे, ९ बजे काठमाडौंमा अवतरण हुने

काठमाडौं, असोज २५ गते । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अवतरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताउनुभयो ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल जानुभएको छ ।

त्यहाँ उहाँले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उहाँको सचिवालयले जनाएको छ ।