महानगर प्रहरी प्रमुखमा पाण्डेको वढुवा

काठमाडौँ, कात्तिक १ गते । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।

महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो ।

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो ।

विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौँ महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।