पोखरा, पुस १५ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी पदयात्रामा जाने पदयात्रीका लागि शुल्क उठाउन बनाएको सूचना केन्द्र व्यवसायीले आइतबार तोडफोड गरेका छन् ।
पालिकाले शुल्क उठाउँदा पर्यटकको संख्या घटेको भन्दै उनीहरुले हुमाल (हुक्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै कागजात पनि लिएर गएका गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले जानकारी दिनुभयो , ।
गाउँपालिकाले कात्तिक १७ गतेबाट मर्दी पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउन सुरु गरेको थियो । प्रवक्ता आचार्यका अनुसार गाउँपालिकाका तर्फबाट लोक्याम्पमा २ जना कर्मचारी शुल्क उठाउन खटाइएको थियो ।
‘बिहानै उहाँहरुले हाम्रो डेस्क तोडफोडसँगै त्यहाँ रहेको फाइल पनि लैजानुभएछ । काम गर्ने २ जना भाइले पनि काम गर्न सक्ने स्थिति रहेन’, प्रवक्ता आचार्यले अनलाइनखबरसँग भने, ‘गाउँ सभाबाटै पारित भएर लागू भएको यो निर्णयमा सुरुमा विरोध गर्नुभएको थिएन । अहिले किन त्यसरी उत्रिन थाल्नुभयो, थाहा भएन ।’
गाउँपालिकाभित्र रहेका पदमार्गमा शुल्क उठाउने निर्णय हालैको गाउँसभाले गरेको थियो । प्रवेश शुल्क उठाउन गाउँसभाबाट आर्थिक ऐन २०८० पारित गरिएको थियो । उक्त ऐन अनुसार पालिकाले गत कात्तिकदेखि स्वदेशी पर्यटकसँग १०० रुपैयाँ र विदेशी पर्यटकसँग ५०० रुपैयाँ उठाउँदै आएको थियो ।
माछापुच्छ्रे मोडल ट्रेलका लागि मर्दी हिमाल हुमालमा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा गाउँपालिकाले शुल्क उठाउँदै आएको छ । पालिकाले शुल्क उठाउन सुरु गरेको पहिलो महिनामै १२ लाख रुपैयाँ संकलन गरेको थियो ।
‘व्यवसायीले पर्यटकहरु तेहोरो मारमा परेको तर्क गर्नुभएको छ । तर, उहाँहरुले टान (ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल) र एक्याप (अन्नपूर्ण संरक्षण आयोजना)ले चर्को शुल्क उठाउँदा त्यसको त विरोध गर्नुभएको छैन नि ?’ आचार्यले भन्नुभयो, । पालिकाले उठाएको रकम व्यक्तिगत खातामा जाने होइन, राज्यकै खातामा जाने हो ।’
आचार्यले पालिकाले कानुनअनुसार स्थानीय स्रोत र साधनको उपभोग गर्न पाउने नीति टेकेर नै उक्त नियम लागू गरेको दाबी गर्नुभयो ।



