न्युरोड क्षेत्रमा ‘नो पार्किङ’विरुद्ध व्यवसायीहरु दोस्रो दिन पनि आन्दोलनमा

काठमाडौं, माघ १० गते । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले दोस्रो दिन आज आन्दोलन गरेका छन् ।

मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।

आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी ‘नो पार्किङ’ गरेको भन्दै व्यवसायीले आज बुधबार पनि सटर बन्द गरेर आन्दोलन गरेका हुन् । महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका सडकमा सवारीसाधन अब पार्किङ गर्न पाइने छैन ।

महानगरपालिकाले न्युरोडमा रहेको व्यावसायिक मलबाहेक पुरानो बसपार्कमा रहेको काठमाडौं टावरमा निःशुल्क पार्किङको विकल्प दिएको छ । महानगरपालिकाले केही समयपछि सुन्धाराको धरहरास्थित तीनतले भूमिगत पार्किङ र काठमाडौं मलको भुइँतलामा पार्किङ खोल्ने भन्दै बानी नपरुन्जेल विरोध हुने दाबी गर्दै आएको छ । महानगरले यसअघि दरबारमार्गमा पनि पार्किङ निषेध गरिसकेको छ ।