बन्दीपुरमा ‘रैथाने बाली र मकै प्रवर्द्धन’ कार्यक्रम

तनहुँ, माघ २७ गते । बन्दीपुर गाउँपालिकाले रैथाने बाली र मकै प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । रैथाने बालीको संरक्षण तथा मकै प्रवद्र्धनका लागि कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रम ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको ससर्त अनुदानअन्तर्गत वार्षिक स्वीकृत कार्यक्रमअनुसार कृषकसँग आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार रैथाने बालीका लागि रु १० लाख र मकै प्रवद्र्धनका लागि रु २० लाख २० हजार गरी कूल रु ३० लाख २० हजार बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाभित्र कृषि व्यवसाय एवं सहकारीसम्बन्धी कृषक समूह, कृषि सहकारी संस्था, उद्यमी कृषकलाई आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

कार्यालयमा आवेदन दिँदा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, निजी फर्मका लागि गत आवसम्म कर बुझाएको प्रमाण, जग्गाको क्षेत्रफल संयुक्त वा हकभोग खुल्ने प्रमाण, प्रतिबद्धता पत्र र आयोजनामा सहभागीका लागि समूह सहकारीको निर्णय पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

रैथाने बाली र मकै प्रवद्र्धनका लागि प्रतिब्लक एक सय रोपनी क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । उहाँले भन्नुभयो, “यस कार्यक्रमले उत्पादनमा वृद्वि हुनाका साथै बाली संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।” रैथाने बालीमा विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन् । जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित मानिन्छन् ।

रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरियालगायत पर्छन् । जिल्लामा मुख्य गरी कोदो, मकै फापर, चिनो, भागो, नेपाले भट्ट, सेतो भट्ट, घैयाधान, तीतेफापर कागुनो, गहुँ, उवा, जौ, लट्टेजस्ता रैथाने बालीका रुपमा लिइन्छ ।