सहकारी ठगीमा फरार रहेकी अञ्जला काेइराला अदालतमा उपस्थित

काठमाडौँ —  मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला काेइराला अदालतमा आफै उपस्थित भएकी छिन्।

संघीय संसदअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलीकी श्रीमतीसमेत रहेकी काेइराला बुधबार जिल्ला अदालत माेरङमा उपस्थित भएकी हुन्।

दिउँसाे १२ बजेसम्म उनकाे अदालतमा बयान चलिरहेको छ। त्यसपछि उनलाई थुनामा पठाउने कि छाड्ने भन्ने अदालतकाे आदेश अनुसार हुने सरकारी वकिलकाे कार्यालय माेरङका सूचना अधिकारी सुदर्शन निराैलाले जानकारी दिए।

Laxmi sunrise bank 2034

गत मंसिर २७ गते सरकारी वकिलको कार्यालयले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना गरेकाे आरोपमा काेइरालासहितका २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्। उनी सहकारीको पूर्व सञ्चालक हुन्।

यस सहकारी ठगी प्रकरणमा एक जना पुर्पक्षको लागि थुनामा छन् भने एक जना धरौटीमा रिहा भएका छन्।

बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन्।

Shivam Cement

सरकारी वकिलकाे कार्यालयले सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाएको छ।