कसैले रहर गर्दैमा गणतन्त्र हट्दैन: देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नजाने बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा  उक्त भनाई राखेका हुन् ।

Laxmi sunrise bank 2034

कार्यक्रममा देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं। जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन । गणतन्त्र हट्नेवाला छैन । कसैले आशा नगरे हुन्छ ।’

साथै, देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको बताउँदै यस्तो व्यवस्था हट्न नसक्ने भनाई पनि राखे ।

देउवाले बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोटसहित आन्दोलन अघि बढाएको र आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको भनाई समेत राखे ।

लडेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएको बताउँदै  देउवाले भने, ‘कसैले रहर गरेर हुने कुरा छैन।’