गृहमन्त्री को हुन्छ भन्ने कुरा प्रधानमन्त्रीले टुंगो लगाउनुहुन्छ : महरा

काठमाडौं, माघ १६ गते । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताउनुभयो ।

सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले यस बिषयमा पार्टीमा छलफल नभएको बताउनुभयो । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भन्नुभयो, ‘गृहमन्त्री को हुन्छ, को हुन्न भन्ने कुरा उहाँ (प्रधानमन्त्री) ले टुंगो लगाउने कुरा हो । यो पार्टीले टुंग्याउने कुरा होइन ।’

बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिनुभएको थियो ।

अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय सम्हालेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

सर्वोच्चको फैसलापछि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको थियो । उहाँको राजिनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहनुभएको छ ।

पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहानुभएको छ । तर, प्रधानमन्त्री प्रचण्डले निर्णय दिनुभएको छैन् ।