काठमाडौँ–तराई द्रूतमार्गको निर्माण प्रगति ४५ प्रतिशत नाघ्यो

काठमाडौँ — देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकतामा रहेको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माणको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत नाघेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको हाल भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ ।

आयोजनाअन्तर्गत महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा निर्माण गरिने सातमध्ये पाँचवटा सुरुङ हाल निर्माणाधीन छन् । नेपाली सेना सडक निर्माण आयोजना कार्यदलका अनुसार मकवानपुरको धेद्रे र लेनडाँडामा दुईतर्फी गरी चारवटा सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु गर्ने लक्ष्यसहित काम अघि बढाइएको सेनाले जनाएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिने ७०.९७७ किलोमिटर लामो द्रूतमार्ग पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा ९, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण गरिनेछ ।

पुल र सडक निर्माण तीव्र

द्रूतमार्गअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण गरिने छन् । हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटर उचाइसम्मका विशेष प्रकृतिका १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छन् ।

बाँकी चार स्थानका पुलमा जग्गा अधिग्रहणसम्बन्धी समस्या देखिएको आयोजनाले जनाएको छ । हाल निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ वटाको सब–स्ट्रक्चर सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ, जसको कुल लम्बाइ १२.८८५ किलोमिटरभन्दा बढी हुनेछ ।

आयोजनाअन्तर्गत ११ किलोमिटर सडकको सबवेस निर्माण सम्पन्न भइसकेको छ भने पाँच किलोमिटर सडक कालोपत्र गरिएको छ ।

टोल प्लाजा र इन्टरचेन्ज निर्माण

निजगढ क्षेत्रमा टोल प्लाजा भवन निर्माण सम्पन्न भइसकेको छ भने इन्टरचेन्ज निर्माण कार्य जारी छ । खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज रहनेछन् । आयोजनाका लागि आवश्यक १५ हजार ४१६ रोपनी जग्गामध्ये खोकना क्षेत्रबाहेक अन्य सबै स्थानमा जग्गा अधिग्रहण सम्पन्न भइसकेको छ ।

एसियन हाइवे स्ट्यान्डर्डमा निर्माण भइरहेको यो द्रूतमार्ग देशकै पहिलो हो, जसले राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्नेछ । प्रारम्भिक अनुमानअनुसार आयोजनाको लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। आयोजना २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक विकासमा योगदानको अपेक्षा

द्रूतमार्ग सम्पन्न भएपछि काठमाडौँबाट मध्यतराई करिब एक घण्टामै पुग्न सकिने अपेक्षा गरिएको छ । यसले यात्राको समय घटाउनुका साथै ढुवानी सहज भई मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार आयोजनाको स्थलगत निरीक्षण गर्दै स्थानीयको भावना, धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर नपर्ने गरी निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

सुरुआती चरणमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतिमा ढिलाइ हुँदा आयोजना प्रभावित भए पनि २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिइएको थियो। डिपिआर भने २०७६ भदौ १ गते स्वीकृत भएको थियो ।

द्रूतमार्गलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक रूपान्तरण गर्ने रणनीतिक आयोजना मानिएको छ, जसले भविष्यमा सडक पूर्वाधार विकासमा राज्यको क्षमतासमेत बढाउने अपेक्षा गरिएको छ ।