तीनकुनेमा गोली लागेकी रेविका भेट्न गृहमन्त्री अस्पतालमा, उपचार खर्च तिर्ने आश्वासन

काठमाडौँ—  गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मंगलबार मन्त्री लेखकले सिभिल अस्पतालमा पुगेर उपचारत खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

मन्त्री लेखकलाई रेविकाले हात जोड्दै सुरुमा मेरो खुट्टा ठीक हुनुपर्‍यो र सरकारले आफ्नो भविष्य सुनिश्चित गरिदिनुपर्‍यो भन्दै आग्रह गरिन्।

सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले आन्दोलनको क्रममा जतिपनि घाइते भएका छन् सबैको सरकारले निःशुल्क उपचार गर्ने बताए।

बाहिरबाट औषधी किनेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जाने र त्यो बराबरको भुक्तानि हुने पनि उनले जानकारी दिए।

Laxmi sunrise bank 2034

उनले भने, ‘जतिपनि घाइतेहरू यहाँ आउनुभयो उहाँहरूको सरकारले निःशुल्क उपचार गर्ने भनेर निर्णय गरिसकेको छ। सरकारको प्रतिबद्धता छ। सबै घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरे कि गरेनन् भनेर नै म हेर्न आएको हो। बाहिरबाट औषधी किनेको भएपनि त्यसको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बराबरको भुक्तानी हुन्छ।’

कोटेश्वर भाटभटेनी नजिकै रहेको डेरामा जान लाग्दा रेविकालाई गोली लागेको थियो। रेविकाको अवस्थामा केही सुधार आएसँगै हिजो आईसीयूबाट क्याबिनमा सारिएको छ।

रेविकाका दाइ दिनेश भने केही दिनअघि नै डिस्चार्ज भइसकेका छन्।