विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु : राष्ट्रपति भण्डारी

काठमाडौँ, फागुन ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको बताउनुभएको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ, “संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।”

देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपति भण्डारीले यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

सोही उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ ।”

कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पु¥याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उहाँले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गर्नुभएको छ ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उहाँले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गर्नुभएको छ ।

रक्षामन्त्री उप्रेतीले सन्देशमा भन्नुभएको छ, “सेनाको गौरवशाली सङ्गठनको साङ्गठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलगायतका क्षेत्रमा समयानुकूल आधुनिकीकरण र क्षमता विकास गर्न अत्यावश्यक छ । सुखी नेपाली र समृद्ध नेपाल राष्ट्रिय अभियानको पदचापमा सेनाको भूमिका महत्वपूर्ण रहनेछ ।”

उहाँले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती र सेनाको भूमिकाबारे आफू जानकार रहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु-याउने सबैमा शुभकामना व्यक्त गरेको छ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ ।