मेयर बालेनको नेतृत्वमा महानगरले फिर्ता ल्यायो अतिक्रमणमा परेका २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले अतिक्रमणमा परेका २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । उनका अनुसार फिर्ता ल्याइएका जग्गाको मूल्य करिब २३ अर्ब रुपैयाँ बराबरको छ ।

नगरप्रमुख शाहका अनुसार आफ्नो नेतृत्वमा आएपछि महानगरले हालसम्म करिब दुई खर्ब रुपैयाँ मूल्य बराबरको १,८५९ रोपनी १४ आना अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, व्यवस्थापन र पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई निहित छ । शाहले सोही कानुनी व्यवस्थाअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्यका लागि महानगरले निरन्तर अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जा हुन नदिन खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र अन्य सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ ।

सार्वजनिक सम्पत्तिको संरक्षणलाई अझ प्रभावकारी बनाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनका आधारमा एक हजार ८५९ रोपनी १४ आना मिचिएका जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार उक्त समिति भोलिदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गर्नेछ। नगरप्रमुख शाहले सार्वजनिक जग्गा फिर्ता अभियानको उद्देश्य केवल अतिक्रमण अन्त्य गर्नु मात्र नभई सर्वसाधारणका लागि सार्वजनिक सम्पत्तिको पहुँच विस्तार गर्न र जनताको स्वाभिमानको रक्षा गर्न रहेको स्पष्ट गर्नुभएको छ ।