काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु भएको छ । गत असारको अन्तिम सातादेखि ठप्प भएको काम असोज २३ गतेदेखि फेरि सुरु भएको सडक विभागले जनाएको छ ।
लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिएको भए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ। स्थानीय व्यवसायी डम्बर घिमिरेका अनुसार, “निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न कठिन भएको छ।”
सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिएको भए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भएको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए। निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।
कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाका अनुसार स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा सडक निर्माण ढिलाइका मुख्य कारण हुन ्। उनले भने, “अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्न सकिँदैन, यसले पनि काममा ढिलाइ भएको हो ।”
सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा पनि काम प्रभावित भएको कोइरालाले बताए । निर्माणाधीन ओभरपासको लम्बाइ ५५० मिटर, ग्राउन्ड क्लियरेन्स ६ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ ।
सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छ भने १२ पुल सवारीका लागि खुलेका छन्। तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति केवल ६७ प्रतिशत मात्रै भएको निर्माण कम्पनीले जनाएको छ ।



