मेयर बालेनलाई लक्षित गर्दै ओलीले भने, “वडाध्यक्ष, मेयर र उनीहरूको गिरोहको सुरक्षा बढाउँछ, मेरो खोस्छ ”

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सुरक्षाकर्मी कटौती गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले आफूलाई थ्रेट रहेको समयमा सुरक्षा घटाएर वडाध्यक्षदेखि मेयरसम्मका जनप्रतिनिधिका लागि बढाइएको टिप्पणी गरे।

उनले भने, “केपी ओलीको घर जलाउनै पर्ने, केपी ओली गुण्डुमा छ, त्यही गएर मार्छौँ भन्ने चार हजार बाइक तयार भएका थिए भन्ने सुनेको छु । ममाथि यस्तो थ्रेट छ, तर मेरो सुरक्षाकर्मी सरकारले फिर्ता लिन्छ।”

ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, “अनि वडाध्यक्ष, मेयर र उनीहरूको गिरोहको सुरक्षा बढाउँछ, मेरो खोस्छ।”

उनले थपे, “देशभित्रै मेरो हिँडडुलमा रोक लगाउने, पासपोर्ट रोक्ने जस्ता निर्णय सरकारले गरिरहेको छ, जुन अस्वीकार्य छ।”

ओलीले सरकारको यस्तो कदम पूर्वप्रधानमन्त्री र प्रमुख राजनीतिक दलका नेतामाथिको सम्मान र सुरक्षाप्रति लापरबाहीको उदाहरण भएको बताएका छन्।