चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मलको बोलपत्र आह्वान

काठमाडौं : चालु आर्थिक वर्षका लागि सरकारद्वारा निर्धारण गरिएको छ लाख मेट्रिक टन रासायनिक मल आयात लक्ष्यअन्तर्गत हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मलको बोलपत्र आह्वान भइसकेको छ ।

कृषकलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यअनुसार सरकारले आवश्यक व्यवस्थापन मिलाइसकेको स्पष्ट पार्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल आयातका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको छ । उक्तमध्ये कृषि सामग्री कम्पनीले ३३ हजार ३३८ मेट्रिक टन यूरिया तथा अन्य मलसहित कूल एक लाख १५ हजार ४०५ मेट्रिक टन आपूर्ति गरिसकेको छ । त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनले ५७ हजार ६७० मेट्रिक टन यूरियासहित कुल ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक लाख आठ हजार ९०८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मौज्दात मलमध्ये कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया र पोटाससहित ६३ हजार आठ सय मेट्रिक टन तथा साल्ट ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन रहेको छ ।

मन्त्रालयका अनुसार हिउँदे खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भइसकेको मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी महिनाहरूमा आपूर्तिको निरन्तरता कायम राख्दै किसानलाई आवश्यक मल सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।